merosandesh- your voice from diaspora

.

FEATURED ARTICLES

करोडौं रकमको डुबान सहित इजरायलको रोजगारी बन्द हुने अवस्थामा !

भुवन सिंह कुँवर
तेलअभिवइजरायल ३० डिसेम्बर २००८

बैदेशिक रोजगारमा विशेष गरी महिलाहरुको लागी आर्थिक र सुरक्षाको दृष्ट्रिकोणले आकर्षक र महत्वपूर्ण गन्तव्य स्थलको रुपमा रहेको इजरायलको रोजगारीको अवसर गत वर्ष मे ७ २००७ मा नेपाल सरकारले राजदुतावास स्थापना नगरेको तालिम प्राप्त दक्ष कामदारहरु नपठाएको तथा विविध कारणहरुले गर्दा अकस्मात नेपालबाट कामदार ल्याउन रोक लगाइएको थियो । तर सरकारले तत्काल राजदुताबास स्थापना गरी आवश्यक पहल पूरा गरेकोले जुलाई १५ २००८ बाट पुनः नेपालबाट कामदार ल्याउने काम सुचारु भएको थियो ।

यसै क्रममा इजरायल खुल्ला भएदेखि हालसम्म तालिम प्राप्त नेपाली कामदारहरु २ हजारको हाराहारीमा केयरगिभरको रुपमा इजरायलमा भित्रिने अवसर प्राप्त गरिसकेकाछन् ।

गत डिसेम्बर २ देखि नेपाल स्थीत इजरायली राजदुताबासले आवेदकले पहिला पासपोर्टमा श्रम स्वीकृतिको स्टीकर लगाएपछिमात्र म्यानपावर कम्पनीको तर्फबाट बुझाउन ल्याइने आवेदनलाई मात्र स्वीकार गर्ने निर्णय गरेपछि विवादको शुरुवात भएको हो । करीब १ महिनादेखि लगभग ८ सय भिषा इन्टरनेटमा देखिसकेर पनि उड्न नसकेपछि करीब ३५ करोड भन्दा बढी रकम इजरायल स्थीत म्यानपावर कम्पनीलाई सुम्पिएर साहूको चर्को ब्याज र मानसिक पीडाको साथमा कहिले राजदुताबास त कहिले श्रमको ढोकामा भौंतारिन नेपाली दाजुभाई तथा दिदिबहिनीहरु बाध्य भएका छन् भने यता इजरायलमा इम्प्लोयररोजगारदाताले समयमा नै काम गर्ने मान्छे नआइपुगेकोले बीमा कम्पनीबाट प्राप्त गर्ने सुविधा पनि नपाउने र काम गर्ने मान्छे पनि नभएको कारणले भिषा रद्द गर्न बाध्य हुने अवस्थाको सुरुआत भै सकेको छ । कतिपय इम्प्लोयरको मृत्यु पनि भै सकेको छ र हुनेक्रम पनि बढ्दोछ । यस अवस्थामा भिषा स्वतः रद्द हुने गर्दछ । जसले गर्दा बढी कमिसन पनि पाउने र अन्य देश भन्दा छिटो कम्तिमा २ हप्तामा कामदार झिकाईदिन्छौं भन्दै बैदेशिक रोजगारको व्यवसाय गर्ने म्यानपावर कम्पनीहरु पनि इम्प्लोयरको गाली र टेन्सनले नेपालबाट भन्दा फिलिपिन्स र अन्य देशबाट नै कामदार ल्याउनु उपयुक्त हुन्छ भन्ने निर्णय गर्न बाध्यात्मक अवस्थामा नचाहेर पनि पुग्न थालेका छन् ।

अर्कोतिर व्यक्तिगत र संस्थागत रुपमा काम गरिरहेका नेपाली एजेन्ट तथा व्यवसायीहरुलाई पनि लगानी डुब्ने ठुलो सन्त्रासले दिनानुदिन सताईरहेको छ । यसको साथ साथै आफ्ना दाजुभाई तथा दिदि बहिनीहरु र ईष्टमित्रहरुलाई ल्याउनको लागी वर्षौं लगाएर कमाएको सम्पूर्ण पैसा एजेण्ट तथा म्यानपावर कम्पनीलाई सुम्पेर बस्ने सयौं नेपाली कामदारहरु जीवन र मरणको दोसाँधमा तड्पिएर दिनप्रतिदिन छट्पटिरहेका छन् । यसको कारणले भोलिका दिनमा कतिपयको घरबारबिहीन हुने अवस्था खडा भएको छ । यसको जिम्मेवारी कस्ले लिन्छ ?

तर इजरायल सरकारको तर्फबाट हालसम्म पनि नेपालको लागी भिषा स्थगीत गर्ने कुनै आधिकारीक जानकारी गराएको छैन र अहिलेसम्म पनि निरन्तर भिषा जारी गरिरहेको छ । यसरी पूर्व जानकारीविना अकस्मात सूचना जारी गरी नेपाल स्थीत इजरायली राजदुतावासले भिषा आवेदन स्थगीत गर्नु कत्तिको समय सापेक्ष र सान्दर्भिक छ देशमा शान्ति सुरक्षा अमन चयन र लाखौं बेरोजगार शिक्षित युवाहरुलाई रोजगारको सुअवसर सिर्जना गर्ने दायित्व बोकेको सरकार अहिले के गर्दैछ आफ्नो श्रीसम्पत्ती धितो बन्धक राखी साहूको चर्को व्याजको ऋण थाप्लो भरी बोकेर कमाएर गरी खान्छु भनी विदेशीन तड्पिरहेका पौरखी हात र पाइलाहरुलाई किन रोक्ने दुष्प्रयास गिरंदैछ कहाँ बिलिन छ मानवता र नैतिकता नेपाल सरकार नेपाल स्थीत इजरायली राजदुतावास र श्रमविभागबीच बैदेशिक रोजगार ऐन र नियमलाई कार्यान्वयन गर्ने सबालमा एकआपसमा देखिएको सानो असमझदारीलाई सुल्झाउने विषयमा किन ढिलाई भइरहेको छ यस विषयलाई सम्बन्धित निकायले किन गम्भिरता पूर्वक ध्यान दिई रहेको छैन किन गरीब जनताको श्रम शोसण गर्न खोजिंदैछ ।

नेपाल सरकारको प्रतिनिधित्व गर्दै नेपाली नागरीकहरुको हक र अधिकारलाई सुरक्षित र सम्बर्धद्धन गर्ने कुरामा इजरायलस्थित नेपाली राजदुतावास अहिलेसम्म किन मौन देखिन्छ नेपालीहरुको करोडौं रकमको लगानी जोखिममा भएको अवस्थामा किन आवश्यक पहलहरु अगाडी बढाउन ढिला गरिदैछ स्पष्ट छ समयमा नै सही निर्णय नगर्ने हो भने नेपालले इजरायलको रोजगारी गुमाउनु पर्ने परिस्थिति सिर्जना भएको छ । यस विषयमा जानकारीहरु उपलब्ध गराउने काममा राजदुताबास किनपछि परिरहेको छ यो गम्भिर विषय हो यसको जवाफ देहिता को हुने सानो भुलको कारणले भोलिका दिनमा हजारौं नेपालीको रोजीरोटी खोसिने काम कुनै पनि पक्षबाट नहोस् जसले भोलिको दिनमा पश्चातापले पुन्पुरोमा हात लगाएर बस्न नपरोस् भन्ने चाहना हाम्रो हो सम्पूर्ण नेपालीहरुको हो ।





(लेखक नेपाली कामदार सहयोगी मंच तथा गैर आवासीय नेपाली संघ इजरायल शाखाका अध्यक्ष हुनुहुन्छ ।)
click for the sound

NEPAL HEADLINES NEWS TODAY

SELECTED VIDEO: